२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025


तिथि विवाद के हो ? उपाय के छ ?


0
Shares

केके मानन्धर

काठमाडौं । यो वर्ष पनि तिथिमा देखिएको घटबढले बडा दशैं मनाउने सर्वसाधारण नागरिक अलमलमा छन् । सार्वजनिक भएको पात्रोमा १७ गते बिहीबार असोज शुक्ल प्रतिपदा उल्लेख छ । सोही दिनलाई नेपाल सम्वत तिथि बमोजिम कौलाथ्व पारु उल्लेख गरी घटस्थापना गरिएको छ । त्यस्तै, असोज २० र २१ गतेलाई दुईदिन चतुर्थी तिथि उल्लेख गरी २६ गते शनिबार एकैदिन नवमी र दशमी देखाएको छ । यो आधारले नवमी टुट भएकोलाई सुधार गरी शनिबार नै दुईथरी तिथि उल्लेख गरेको देखिन्छ । बिहान नवमी र दिउँसोबाट विजया दशमी शुरु हुने पात्रोमा उल्लेख छ । सोही पात्रो बमोजिम यो वर्ष बडा दशैं मात्र होइन अब तिहार पनि उस्तै हुने देखिन्छ ।

नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने समुदायले बडा दशैंलाई आआफ्नै शैलीमा मनाउँछन् । त्यसमध्ये राजधानी काठमाडौंका रैथाने नेवार समुदायले बडा दशैंलाई मोहनि नखःको रुपमा मनाउँछन् । नेपाल सम्वतको तिथिलाई नै आधार बनाएर परम्परा धान्दै आएका नेवार समुदायबीच यो वर्ष तिथिमा देखिएको घटबढसँगै चोक, चिया पसल र सामाजिक सञ्जालमा तर्कवितर्क भएका छन् । कतिपय अवस्थामा विवादसमेत भएको उदाहरण छ ।

यो वर्ष भक्तपुर, ललितपुर र काभ्रेका नेवारहरु असोज २३ गते बुधबार फूलपाती, २४ बिहीबार महाअष्टमी (कूछिभ्वय्), २५ शुक्रबार स्याक्वत्याक्व (महानवमी) र २६ गते शनिबार चालं (विजया दशमी) मनाउने निष्कर्षमा पुगेका छन् । यता काठमाडौंमा भने २४, २५, २६ र २७ गते अर्थात् माथि उल्लेखित मिति भन्दा एकदिन पछि सोही क्रमिक गतिविधि गरि चाड मनाइरहेका छन् ।

अझ चाड मनाउन सर्कुलर जारी गर्ने निकाय ठाउँपिच्छे भएर पनि सर्वसाधारण नागरिकलाई यो वर्ष झन् अलमल बनाएको छ । चाड मनाउने तिथि र मितिको गणना तथा सार्वजनिकीकरण खगोल विज्ञानका ज्ञाताले गर्नुपर्ने हो । यसको सरासर सम्बन्ध ज्योतिषी र दैवज्ञहरुसँग रहन्छ । तर खगोल विज्ञानको ख समेत थाहा नभएका सर्वसाधारण नागरिक यो अवस्थामा तर्क वितर्क गरिरहेका छन् । कुन तिथिमा कुन चाड मनाउने भन्ने विषयको विवाद, तर्क र वितर्क सर्वसाधारण नागरिकले गर्ने नै होइन । यो त नितान्त प्राविधिक विषय भएकोले ज्योतिषी र दैवज्ञहरु नै घोत्लिनुको विकल्प छैन ।

त्यसो भएर तिथिमितिको दायरा र मापदण्ड बनाउनेदेखि सार्वजनिक गर्ने जिम्मेवारी ज्योतिषी र दैवज्ञको अधिकार क्षेत्रमा आउनुपर्छ । तर पछिल्लो समय अमुक संस्था, गुठी, नगरपालिकादेखि सामुदायिक समूहले समेत कागजको खोस्टोमा लेखेर फलानो मितिमा चाड मनाउनु, ढिस्काना तिथि नै हुनुपर्छ जस्तो आशयको सर्कुलर गरेको देखिन्छ । यसरी टोलैपिच्छेका समूहले आआफ्नै तर्क प्रस्तुत गरी चाड मनाउन गरिएको आग्रहले समुदायभित्र झन् विभाजन ल्याएको छ । संस्कृतिलाई समुदाय जोड्ने सेतुको रुपमा व्याख्या गरिन्छ तर तिथिकै कारणले संस्कृति मनाउनेमा विचलन आएसँगै सैद्धान्तिक पक्षलाई समेत चुनौती दिएको छ ।

धेरै पहिलेदेखि काठमाडौंको लागि जनबहाल, स्वयम्भू र विजेश्वरी, ललितपुरको लागि हिरण्यवर्ण महाविहार (क्वाःबहाः), भक्तपुरको लागि तलेजु, काभ्रेको लागि नमोबुद्ध र साँखुको लागि बज्रयोगिनीले समन्वय गरी चाड मनाउने तिथि सार्वजनिक गर्दै आएका छन् । तर बिडम्बना यी निकाय एकअर्कासँग फरक मत राखेर तिथि सार्वजनिक गर्छन् । फरक ठाउँका यी निकायले एकै थरी तिथि सार्वजनिक गर्ने सवालमा अहिलेको सांस्कृतिक विचलन नहुने देखिन्छ । तर त्यसो गरेको देखिएको छैन । यी निकायहरुबीच न समन्वय हुन्छ न त समझदारी नै । आखिरमा हुनुपर्ने यी निकायहरुबीचको विचारमा एकरुपता नै हो । अझ एउटै मत बनाएर नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमार्फत पात्रोमा उल्लेख गर्नुपर्ने हो । तिथिमिति सार्वजनिक गरी चाड मनाउन आह्वान गर्ने सरकारी आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति भएकोमा दुई मत नहोला । समितिले सम्बन्धित पक्षसँग समन्वय गरी सुझाव संकलन गरेर चाडपर्व मनाउने सम्बन्धिको समय निर्धारण गरिदिएर पात्रोमा उल्लेख गरिदिंदा अहिलेको समस्या समाधान हुने देखिन्छ । यसमा पनि प्राविधिक जटिलता भने नभएको होइन ।

अब, कि त माथि उल्लेखित काठमाडौंको जनबहाल, ललितपुरको हिरण्यवर्ण महाबिहार र भक्तपुर तलेजुका ज्योतिषी र दैवज्ञलाई पूर्ण अधिकार दिएर सांस्कृतिक विचलन नहुने शर्तमा तिथि सार्वजनिक गर्नदिनु पर्छ । त्यसो नहुने सवालमा ती निकायका प्रतिनिधिलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यसमितिमा अट्ने वातावरण दिनुपर्छ ।

हो, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमामा माथि उल्लेखित निकायका ज्योतिषी र दैवज्ञ अट्ने वातारण बनाउन समितिको कार्यविधि, नियमावली र विधान संशोधन गर्नुपर्ने हुनसक्छ । सांस्कृतिक विचलन रोक्नको लागि यो उपाय सबसे उत्तम हो । सर्वसाधारण नागरिकलाई त के ? चाड मनाउनको लागि तिथि सार्वजनिक गर्ने जिम्मेवारी पाएको निकायले जुन तिथि भन्यो, पात्रोमा जुन उल्लेख ग¥यो सोही बमोजिम चाड मनाउने त हो ।

यसअघि, तिथिमा देखिएको घटबढको समस्या समाधान गर्न राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले पहल गरेको थियो । प्रतिष्ठानले सांस्कृतिक विचलनविरुद्धको अभियान पनि सञ्चालन गर्दैआएको छ । केही दशक यता तिथिमा देखिएको घटबढको कारणले गाईजात्रा, म्हपूजा, लक्ष्मीपूजा, बडा दशैं लगायतका चाड मनाउने क्रममा समुदायलाई अलमल हुँदै आएको छ । चाडपर्व मनाउनका लागि समुदायमा देखिएको अलमल न्यूनीकरण र समाधानका लागि प्रतिष्ठानले अभियानै सञ्चालन गर्दै आएको छ । यहीक्रममा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाः प्रतिष्ठानमा सरोकारवाला निकाय अन्तर्गतको पञ्चाङ्ग, ज्योतिषी तथा विद्वत वर्गको सहभागितमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि काठमाडौं, ललितपुर, भक्तपुर लगायतको ठाउँमा कार्यक्रम गरेको थियो । कार्यक्रममा राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समिति, नेपाल पञ्चाङ्ग पत्र, पर्व सुधार राष्ट्रिय कार्यान्वय समिति, नेपाल ज्योतिष परिषद्, नेपाल परम्परागत बौद्ध धर्म संघ, वाल्मिकी विद्यापीठ, बज्रयान महासंघ, नेवाः देय् दबूलगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुनुभएका विद्वानहरुले सांस्कृतिक विचलन हुनबाट बचाउन चाडपर्व मनाउने समयको एकरुपता आवश्यक रहेकोमा जोड दिनुभएको छ । पछिल्लो समय म्हपूजा, गाईजात्रा, चथाः लगायतको चाडपर्व ठाउँ विशेष अनुरुप फरक फरक समयमा मनाउँदा यसले समुदायभित्र नराम्रो सन्देश प्रवाह भएको अधिकांसको भनाइ थियो । सोही समस्यालाई न्यूनीकरण गर्न तथा समाधानको उपाय पहिल्याउन प्रतिष्ठानले अगुवाइ गरेकोमा आभारसमेत प्रकट गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुको भनाइ तपसिल बमोजिम रहेको छ ।

१) प्रा.डा. देवमणि भट्टराई, केन्द्रीय सदस्य, राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समिति ।

बडा दशैं, यमपञ्चक, गाईजात्रा लगायतका वार्षिक चाडलाई तिथि, नक्षत्र, सूर्य, गते आदिको गणना गरेर पात्रोमा उल्लेख गरिँदै आएको राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिका केन्द्रीय सदस्य प्रा.डा. देवमणि भट्टराईले दाबी गर्नुभएको छ । पञ्चाङ्गले पात्रो बनाउँदा सर्वपक्षीय आधारलाई मध्यनजर गरेपनि एकाध समुदायको असन्तुष्टि रहेकोमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेवार पञ्चाङ्गकारमा पनि शुद्धाशुद्धी गरिदिन आग्रह गर्नुभएको छ । कतिपय विषय ज्योतिषी मंगलदास प्रधानाङ्गसँग समन्वय गरी अघि बढेकोमा उहाँले पनि शास्त्रलाई आधार बनाउनुपर्नेमा जोड दिनुभएको प्रा.डा. भट्टराईको दाबी छ । शास्त्र बमोजिम तीन दिन लगातार तिहार मान्नै पर्छ भन्ने उल्लेख नभएको तर परम्परागत मान्यतालाई आधार बनाउँदा त्यो अमिल्दो हुनपुगकाले त्यसमा सुधार गर्नको लागि समुदायका ज्योतिषी, दैवज्ञ तथा विद्वानहरुलाई सुझाव दिन आग्रह गर्नु भएको छ । यसको लागि पात्रो निर्माण, नक्षत्रको ज्ञान आदि विषयमा प्रशिक्षण समेत दिनुपर्नेमा जोड दिनुभएको छ ।

२) राजेन्द्र मान बज्राचार्य, अध्यक्ष, बज्रयान महासंघ ।

नेवार समुदायभित्र तीन किसिमले धर्म र संस्कृति मनाउने परम्परा रहेको बज्रयान महासंघका अध्यक्ष राजेन्द्र मान बज्राचार्यले बताउनुभएको छ ।
क) एकै दिनमा दुईटा तिथि अनुसार चाड नमनाउने । ख) सूर्याेदयको किरणसँगै सो तिथिलाई आधार मानेर चाड मान्ने । ग) घरको छानामा सूर्याेदयसँगै परेको नयाँकिरणलाई आधारमा मान्ने । हिन्दु र बौद्ध धर्म संस्कार एकअर्कोमा फरक रहेकोले पनि तिथिमा केही हदसम्म अलमल रहेको बताउनुभएको छ । चाड मनाउने क्षेत्रमा विविधता रहेको उहाँको दाबी रहेको छ । त्यसैले, विविधताभित्रको एकतालाई सौन्दर्यको आधार मानेर चाडपर्व मनाउन सकिनेमा जोड दिनुभयो । उहाँले पञ्चाङ्गको निर्देशिकालाई सुधार गरिदिन आग्रह गर्नुहुँदै परम्परागत धर्म संस्कृतिलाई बन्देज लाग्ने खालको क्रियाकलाप नगर्न आग्रह गर्नुभयो । पञ्चाङ्गले पात्रो प्रकाशन गर्ने बखत तिथि उल्लेख गर्ने तर तिथिसँगै कोष्ठकमा चाडपर्व उल्लेख नगरी पात्रोको मुन्तिर नोट राखेर चाडपर्व उल्लेख गरिदिँदा केही हदसम्म तिथिमा देखिएको अलमल न्यूनीकरण हुने दाबी गर्नुभयो ।


त्यस्तै, सनातन धर्मका अनुयायीमध्ये द्यो बाज्या अर्थात शर्मा र राजोपाध्यायहरूले लक्ष्मीपूजालाई औंसीकै रात मनाउने परम्परा रहेको बताउनुभयो । तिहारको यमपञ्चक मध्ये पाँच दिन लगातार मनाउने र बिचमा टुट नगर्ने, सुलं नबार्ने परम्परा रहेको उहाँको भनाइ थियो । यही विषयमा राजोपाध्याय बाज्या बलदेव जुजु र महेश्वर जुजुहरुको दाबी रहेको समेत उहाँले बताउनुभयो ।

३) पात्रो सम्बन्धिको अध्येता तथा भाषासेवी पौभाः साय्मि ।

तिथिमिथिमा देखिएको घटबढलाई वैज्ञानिक आधारले समाधान गर्नुपर्नेमा पात्रो सम्बन्धि अध्येता तथा भाषासेवी पौभाः सायिमले जोड दिनुभएको छ । परम्परा र व्यवहारलाई मध्यनगर गरी पात्रो प्रकाशन हुँदा समग्रमा चाडपर्व मनाउने सम्बन्धि अलमल समाधान हुने उहाँको भनाइ थियो । लक्ष्मीपूजाको दिन तिथिमा अलमल हुँदा अगाडि मनाउने कि पछाडि मनाउने भन्ने सम्बन्धमा धर्म, संस्कृति, परम्परासँग नक्षत्रको गणना मिलाए समझदारीमा चाडपर्व मनाउने समय निर्धारण गर्नसकिनेमा जोड दिनुभयो ।

४) नेवाः देय् दबू उपत्यका प्रदेशका अध्यक्ष, श्रीकृष्ण महर्जन ।

संस्कृति, रितिथितिले समुदायलाई जोड्नुपर्ने मान्यता छ । तर समुदायलाई विभाजन गर्ने किसिमले तिथिमा घटबढ भएको पात्रो सार्वजनिक हुँदै आएकोले यसमा समस्या देखिएको नेवाः देय् दबू उपत्यका प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो । त्यसैले समुदायलाई विभाजन नहुने गरी पात्रोमा चाडपर्व मनाउने समय निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरोकारवाला नेवारहरुको आधिकारिक निकाय भक्तपुरको तलेजु, काठमाडौंको जनबहाल र ललितपुरको क्वाःबहाः हिरण्यवर्ण महाबिहारपञ्चाङ्गसँग समन्वय गरी उहाँहरुको सुझाव बमोजिम पात्रोमा चाडपर्व मनाउने समयको निर्धारण गरिदिन आग्रह गर्नुभएको छ ।

५) पर्व सुधार राष्ट्रिय कार्यान्वय समितिका हरिनारायण मल्ल ।

ज्यापुन्हिलाई वर्षकै सबभन्दा लामो दिन र यःमरि पुन्हिलाई वर्षकै सबभन्दा छोटो दिनको रुपमा स्वीकार गरिएको पर्व सुधार राष्ट्रिय कार्यान्वय समितिका हरिनारायण मल्लले दाबी गर्नुभएको छ । राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले समेत सोही विषयलाई आधार बनाएर २०७५ र ७६ सालमा प्रकाशित भएको पात्रोमा उल्लेख गरेपनि सो पश्चात् यो विषय उल्लेख नभएकोप्रति जिज्ञासा राख्नुभएको थियो । उहाँले वर्षको लामो र छोटो दिनलाई आगामी पात्रोमा उल्लेख गर्न समेत आग्रह गर्नुभएको छ ।

६) नेपाल पञ्चाङ्ग पत्र तथा हिरण्यवर्ण महाबिहाल, क्वाःबहाःका केशर गोविन्द जोशी ।

राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिमा ललितपुरबाट प्रकाशित भएको पात्रोमा तिथिमा अलमल देखिएकोप्रति नेपाल पञ्चाङ्ग पत्र तथा हिरण्यवर्ण महाबिहाल, क्वाःबहाःका केशर गोविन्द जोशीले जिज्ञासा राख्नुभएको छ । सूर्य, चन्द्रमा र आफ्नै तर्कलाई आधार बनाएर पात्रो प्रकाशन भएकोले झन समुदायभित्र अलमल र सांस्कृतिक विचलन ल्याएको बताउनुभएको छ । सबैले नेपालकै मौलिक र प्राचिन महत्व बोकेको नेपाल संवत् लागू गर्ने हो भने तिथिमा देखिएको घटबढ र अलमलको समस्या हुने दाबी गर्नुभएको छ ।

७) नेपाल ज्योतिष परिषद् केन्द्रीय सल्लाहकार, हितराज श्रेष्ठ ।

चाडपर्वसँगै धर्म र कर्म गर्नुपर्नेमा नेपाल ज्योतिष परिषद् केन्द्रीय सल्लाहकार हितराज श्रेष्ठले जोड दिनुभएको छ । घडी र पला अनुसार नै ज्योषित विद्या हुने भएकोले सोही बमोजिम पात्रो प्रकाशन हुनुलाई स्वभावित प्रक्रिया रहेको बताउनुभएको छ ।

ज) नेपाल परम्परागत बौद्ध धर्म संघ काठमाडौं अध्यक्ष, काठमाडौंस्थित कुमारी घरका राज गुरुजु तथा नेपाल बज्रयान महाबिहार लुम्बिनीको गुरूजु मञ्जुश्री बज्राचार्य ।

चाडपर्व मनाउने सवालमा सम्पूर्ण समुदायले निर्धारित र एकै दिनमा मनाउनुपर्नेमा जोड दिनुभएको छ । चाडपर्वमा एकरूपता नहुँदा समस्या देखिएको हुनाले परम्परा र ज्योतिष विद्यालाई मिलाएर पात्रो प्रकाशन गर्न आग्रह गर्नुभएको छ ।

८) वाल्मिकी विद्यापीठका उपप्राध्यापक शान्तरत्न बज्राचार्य ।

हालको काठमाडौं उपत्यकामा वाग्मती र विष्णुमती नदीसँगै मानव सभ्यता विकास भएको हुनाले यो ठाउँमा बसोबास गर्ने समुदायले मनाउँदै आएको चाडपर्वमा अलमल नहुनुपर्नेमा जोड दिनुभएको छ । शुरुमा मुसलमान, हिन्दु, खसआर्य, मधेशी जोकोही बसाइ सराइ गरी आउँदा नेवार बनेको आजकल उल्टो भइरहेको सन्दर्भ जोड्नुहुँदै सबै समुदायलाई जोड्ने सेतुमा एकरुपता आउनुपर्नेमा जोड दिनुभएको छ ।

९) दबुलि नेपालका अध्यक्ष ई. सन्तोष प्रजापति तथा ई. सुरेश बज्राचार्य ।

दबुलि नेपालका अध्यक्ष ई. सन्तोष प्रजापति तथा ई. सुरेश बज्राचार्यले सांस्कृतिक एकतालाई मजबुद बनाउनुपर्नेमा जोड दिनुहुँदै विद्वान र सरोकारवाला निकायका प्रतिनिधिहरुले चाडपर्वमा एकरुपता ल्याउने खाले पात्रो प्रकाशन गर्नुहुन आग्रह गर्नुभयो ।