
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ ।
राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो ।
शुक्रबार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ । भवन भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले सो भवन निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराउनुभएको हो । महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो ।
यता गुरुङले भने आफूलाई विश्वास गरेर एमालेले सो भवन निर्माण गर्ने अवस दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफू एमाले निकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । व्यवसायी गुरुङले सो भवन नौ रेक्टर स्केलको भूकम्पलाई पनि धान्नेगरी बनाएर आगामी वर्ष २०८२ सालको दशैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको पनि स्मरण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्