१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुर्गापक्षको मुख्य दिन आज विजया दशमी : मान्यजनबाट टीका लगाइँदै


949
Shares

काठमाडौं । आज दुर्गापक्षको मुख्य दिन विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका तथा समृद्धिको प्रतीक जमरा लगाएर दशैं मनाइँदैछ ।

टीका ग्रहण गर्न आज बिहान ११.३६ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नवदुर्गाको प्रसाद टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ ।

दुर्गा बिसर्जन गर्न आज बिहान ८ः३३ बजेको साइत रहेको छ । कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउन सकिने र दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो हुने बताइएको छ ।

विजयादशमी आफैँ नै शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने उहाँले बताउनुभयो । राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने अध्यक्ष प्रा अधिकारीले बताउनुभयो ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । केही स्थानमा भने आज मात्र टीका थाप्ने प्रचलन छ ।

आज गुरु पुरोहित, नातामा ठूला तथा मान्यजनहरु हजुरबुबा–हजुरआमा, बा–आमाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापेर आशीर्वाद लिइन्छ ।