२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


विजया दशमीको अवसरमा प्रधानमन्त्री ओलीबाट शुभकामना सन्देश व्यक्त


208
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन आग्रह गर्नुभएको छ ।

२०८१ सालको विजया दशमीको अवसरमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुहुँदै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग होस्टेमा हैसे मिलाउन सबैलाई आह्वान पनि गर्नुभयो । उहाँले जो जहाँ रहेपनि पीडामा परेकाहरूको पीडा हरण गर्न सहयोगी हातहरू बढाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विपद्ले थलिएको समयमा यसपालिको दशैँ टीका उल्लासपूर्ण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनका साथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन, दशैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त ज्येष्ठ नागरिकहरूले जीवन गुमाउनुप¥यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको बताउँदै आश्वस्त रहन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रकोपले किसानको अन्नबाली नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउँछौँ । भत्किएका घरहरू पुनर्निर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दशैं मनाउन र मिल्नेहरूले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।’