
काठमाडौं । पूर्वाधारविज्ञ डा.गोविन्द पोखरेलले विपद् जोखिम र जलवायु परिवर्तन न्युनिकरणको लागि काम गर्न छुट्टै मन्त्रालय आवश्यक भएको बताउनुभएको छ । विज्ञ पोखरेलले बाढी पहिरो जस्ता विपद् हेर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गर्ने मन्त्रालय छुट्याउन आवश्यक भएको बताउनुभएको हो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलले अधिकार सम्पन्न मन्त्रालय स्थापना गर्दा विपद् व्यवस्थापन, उद्धार, राहत र पुनःनिर्माणमा राज्यका सबै निकायहरु लाग्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
पूर्व उपाध्यक्ष पोखरेलले नेपालले संरचना बनाउने र विकास गर्ने शैली, क्रियाकलाप, मापदण्ड, सुशासन र जलवायु परिवर्तन न्यूनीकरणका लागि छुट्टै जलवायु परिवर्तन र विपद् व्यवस्थापन भनेर मन्त्रालय छुट्याउनुपर्नेमा जोड दिनुभयो । विपद् र जलवायु परिवर्तन हेर्नका लागि अधिकार सम्पन्न मन्त्रालय नै खडा गरिनुपर्ने पोखरेलको तर्क छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नेगरी विकास संरचना मापदण्ड जरुरी भएकोमा पनि पोखरेलको जोड छ । हरेक विपद्मा कसरी उद्धार र बच्न सकिन्छ भन्ने विषय विद्यालय शिक्षादेखि पाठ्यक्रममा समावेश गराउनुपर्ने उहाँको सुझाव छ । विपद्जन्य घटना नेपालमा झनझन बढ्दै जाने निश्चित रहेको भन्दै आवश्यकताको विकासमा जोड दिनुपर्ने उहाँको भनाइ छ । कुल गार्हस्थ्य उत्पादनको झण्डै ३ प्रतिशत विपद्ले क्षति पुर्याइरहेको सरकारी तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्