
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश कृष्ण शाहको इजलाशले अनुसन्धानका लागि नियन्त्रणमा लिने अनुमति दिएको हो । कास्की जिल्ला अदालतको अनुमति लगत्तै प्रहरी बनस्थलीस्थित रास्वपा कार्यालय पुगेको छ । लामिछाने आज दिउँसोदेखि नै पार्टी कार्यालयमै रहनु भएको छ भने रास्वपा कार्यालयमा कार्यकर्ताहरु ठूलो संख्यामा उपस्थित भएका छन् ।
प्रहरी पनि उत्तिकै मात्रामा परिचालन गरिएको छ । लामिछानेलाई नियन्त्रणमा लिएर आजै पोखरा लैजाने तयारी रहेको बुझिएको छ । सूर्यदर्शन सहकारीका अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारीकै रकम अपचलन गरेको आरोपमा गत असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ । पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई गोर्खा मिडियाका साझेदार हुन् । सहकारी ठगी छानविनका लागि गठित संसदीय समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले लगानी गरेको ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्