
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय बनस्थलीबाट नियन्त्रण लिएको हो ।
लामिछानेलाई सडक मार्ग हुदै पोखरा लगिने भएको छ । यसअघि आजै कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई आज पक्राउ गर्न अनुमति दिएको थियो । त्यसलगत्तै सीआइबी टोली बनस्थलीस्थित रास्वपा कार्यालयमा पुगेको थियो ।
प्रहरीले लामिछानेलाई पोखरा लैजान वुद्ध एअरमा टिकट बुक गरेको भए पनि लामिछानेले भने सडक मार्ग हुदै पोखरा जाने अडान राखेपछि प्रहरीले सडक मार्ग हुँदै पोखरा लैजाने भएको हो । लामिछानेलाई भोलि कास्की जिल्ला अदालतमा पेश गर्न पोखरा लगिएको हो । यसअघि आजै अपरान्ह कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजङ शाहको इजलाशले अनुसन्धानका लागि नियन्त्रणमा लिने अनुमति दिएको थियो ।
लामिछाने पक्राउ पर्ने हल्ला चलिसकेकाले लामिछाने विपक्षी दलहरुको वैठकबाट सोझै वनस्थलीस्थित पार्टी कार्यालय पुग्नु भएको थियो । सूर्यदर्शन सहकारीका अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारीकै रकम अपचलन गरेको आरोपमा गत असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ । पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई गोर्खा मिडियाका साझेदार हुन् । सहकारी ठगी छानविनका लागि गठित संसदीय समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले लगानी गरेको ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्