८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकार विपक्षीलाई खोजीखोजी हान्ने खेलमा लागेको माओवादी : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नालाई बचाउने र प्रतिपक्षीहरुलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

पार्टी मुख्यालयमा मंगलबार बसेको पार्टीको वागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने रणनीति अनुसार अघि बढेको छ भन्नुभयो ।

सोमबार राति विपक्षी दलहरूको तर्फबाट ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री ओलीलाई अघिल्लो सरकारले को पक्ष को विपक्ष नभनी गल्ती गर्नेलाई कारबाही अघि बढाएकोमा अहिलेको सरकारले कांग्रेस र एमालेका नेताले गल्ती छ्याङ्गै देख्दा पनि बचाउन लागेको बताएको विषयमा ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

सरकारको हनीमुन पिरियडलाई ख्याल गर्दै अहिलेसम्म सडकमा नआएको भन्दै दाहालले अब भ्रष्टाचारीलाई बचाउने सरकारको भण्डाफोर गर्ने बताउनुभयो । ओली सरकारको हर्कतका कारण जनतामा संस्थापन विरोधी भावना बढ्दै गएको उहाँको आरोप थियो ।

दाहालले उद्योगहरूबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोज्ने बाढी पहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गादान प्रकरणसम्म आउँदा सरकार आफैले भ्रष्टाचारीको संरक्षकको रूपमा प्रमाणित गरेको पनि जिकीर गर्नुभयो ।