
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताउनुभएको छ ।
बुधबार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पार्नुभएको हो । उहाँले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताउनुभयो । उहाँले उद्योगीहरुले विद्युत उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताउनुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताउनुभयो । उहाँले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महशुस नगरेको बताउनुभयो ।
मन्त्री खड्काले मन्त्रालय मातहतका सबैले उत्साहपूर्वक काम गरिरहेका भन्दै मन्त्रालयमा राम्रो टिम रहेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रुपमा विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्