
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही शुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताउनुभयो । उहाँले ५ सय ७५ भन्दा बढी जेलमा रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभइ बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्नु नहुने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभइ कानूनलाई गुरु मानेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म संघीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले वृद्धि भई करिब ३२९ अर्ब रुपैयाँ पुगेको छ । कुल राजश्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई करिब २४८ अर्ब रुपैयाँ पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्