१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सरकारको एक सय दिन : नयाँ भन्दा नियमित कामको सूची लामो, सरकार ढल्ने हल्लाको खण्डन


2.067k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सय दिनमा जनतामा आशा जगाउन असफल भएको चर्चा भईरहेको बेला प्रधानमन्त्री ओलीले सयदिने अवधिमा थुप्रै काम भएको देखाउने कोशिस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सय दिनमा गर्ने भनिएका ७० प्रतिशत काम सम्पन्न भएको दाबी पनि गर्नुभएको छ । दुग्ध र उखु किसानलाई भुक्तानी दिएको तथा सहकारी ठगीमा संलग्हरुको गिरफ्तारी जस्ता नियमित कामहरु मात्रै होइन कि नेशनल डे कन्सर्टलाई पनि प्रधानमन्त्रीले उपलब्धिमा समेटेर फेहरिस्त प्रस्तुत गर्नुभयो ।

गत असार ३१ गते प्रधानमन्त्री बन्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकार गठन हुने वित्तिकै प्राकृतिक विपपत्तिको सामना गर्नु परेको र शुरुदेखि नै विरोधको सामना गर्नुपरेको गुनासो गर्नुभयो । विरोध र विपत्तिका बीच प्रतिवद्धता जनाएका ७० प्रतिशत काम सम्पन्न भएको प्रधानमन्त्री ओलीको दाबी थियो । प्रकृति प्रतिकुल नभएको भए ३० प्रतिशत काम पनि सम्पन्न भईसक्ने उहाँको दाबी थियो ।

आफू प्रधानमन्त्री बनेलगत्तै चितवनको सिमलतालमा दुई वटा बस त्रिशुलीमा खसेकोदेखि गत असोज दोस्रो साताको बाढी पहिरोले पु¥याएको क्षतिसम्मको चर्चा गर्दै उहाँले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको दाबी गर्नुभयो । एक वर्ष बन्दैन भनेको वीपी राजमार्ग दुई सातामै सञ्चालनमा ल्याएको उहाँको दाबी थियो ।

सरकारलाई काम गर्न नदिन सय दिन नबित्दै सरकार ढल्ने हल्ला चलाईएको गुनासो पनि उहाँले गर्नुभयो । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न पनि उहाँले चेतावनी दिनुभयो ।

लामो समयदेखि भुक्तानी नपाएका दुग्ध किसान, उखु कीसना र निर्माण व्यवसायीहरुको बक्यौता भुक्तानी गरेको विवरण प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री ओलीले गत असोज ३ गते संविधान दिवसको दिन दरबार मार्गमा नेशनल डे को ब्यानरमा गरको कार्यक्रमलाई पनि सय दिने उपलिब्धको सूचिमा राख्न विर्सनु भएन ।

सरकार कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्ने प्रतिबद्ध रहेको भन्दै ओलीले सहकारी ठगविरुद्धको कारबाहीमा सरकारले क्यामेरा होइन कानुन हेर्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सडकबाट दबाव सिर्जना गर्न खोजेको विषयलाई जवाफ दिनुभयो । सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीले मात्र सरकारको दायित्व पूरा नहुने भन्दै उहाँले बचतकर्ताको रकम पनि फिर्ता गराउन पनि सरकार प्रतिवद्ध छ भन्नुभयो ।

आफूले सरकारको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उहाँले अहिले अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको जिकीर गर्नुभयो । यद्यपी कुन कुन क्षेत्रमा कसरी सुधार भईरहेको छ भन्ने विषय चाहीँ उहाँले प्रस्तुत गर्नुभएन ।

लामो समयदेखि खिचातानीको विषय बनेको संक्रमणकालिन न्याय निरुपण सम्बन्धि विधेयक संसदबाट पारित हुनुलाई सबै पक्षले उपलब्धिपूर्ण काम माने झैं प्रधानमन्त्री ओलीले पनि त्यसलाई सरकारको सय दिने कामको उपलब्धिको सूचिमा राख्नुभएको छ ।

सातै प्रदेशमा जलनका विरामीको निःशुल्क उपचार, ७ वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा तथा ट्रायल पास गर्नासाथ नागरिक एप मार्फत सवारी चालक लाइसेन्स दिने घोषणालाई पनि प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिपूर्ण काम भन्नुभएको छ । यद्यपी ती घोषणाको कार्यान्वन कति सफल हुन्छ भन्ने परीक्षण हुन बाँकी नै छ । प्रधानमन्त्री ओलीले सरकारका कामहरुको फेहरिस्त पेश गरिंरहँदा सरकार गठन गर्ने क्रममा घोषणा गरिएको संविधान संशोधनको विषयमा के कति प्रगति भयो वा हुँदै भएन भन्ने विषय चाहीँ छुन चाहेको देखिएन ।