
काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिन वासिंगटन पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ ।
हिजो भएको वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको वासिंगटनस्थित नेपाली राजदूतावासले जनाएको छ । वार्तामा नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको जनाइएको छ ।
यसैगरि विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्न भएको छ । नेपाल सरकार र विश्व बैंकबीच सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भएको छ ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौताअनुसार विश्व बैंकले नेपाललाई १५ करोड डलर उपलब्ध गराउने छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला)का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्