७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौं : वनमन्त्री ठकुरी


117
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको बताउनुभएको छ ।

बिहीबार मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा वनमन्त्री ठकुरीले यस्तो बताउनुभएको हो ।

वनमन्त्री ठकुरीले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको बताउनुभयो । उहाँले कार्बन व्यापारमा निजी क्षेत्रसमेत समावेश गर्नेगरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा रहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको, वाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको, दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको बताउनुभयो । उहाँले दिगो वन व्यवस्थापनको मापदण्ड तयार गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री ठकुरीले सय दिनको अवधिमा वन विकास कोषमा ६ करोड ५९ लाख ११ हजार २०४.४५ रुपैयाँ जम्मा भएको बताउनुभयो ।