१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धन : सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्‍याउने काम उचित होइन


1.053k
Shares

काठमाडौं । सत्तारुढ दलहरुले सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलहरुले साझा ७ बुँदे दृष्टिकोण सार्वजनिक गर्दै देशको लोकतान्त्रिक वातावरणलाई बिथोल्ने अनुचित र अवाञ्छित तरिकाहरु उचित नभएको बताएका हुन् ।

मुलुकको लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा अगाडि बढाउनका लागि सरकारले अगाडि बढाइरहेका प्रक्रियाहरुमा सहयोगका लागि आग्रह गरेका छन् । सत्तारुढ दलहरुले लोकतन्त्रको विकल्प उन्नतस्तरको लोकतन्त्र मात्रै हुने भन्दै लोकतन्त्रमा सरकारको विकल्प संसदबाट र जनादेशबाट मात्रै हुने स्पष्ट पारेका छन् ।

सडकबाट आवञ्छित गतिविधि गरी अमनचयनलाई खलल पु¥याउने र विकास निर्माणको कामलाई अवरोध गर्ने काम उचित नभएको सत्तारुढ दलहरुको निष्कर्ष रहेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार गठन भएपछि कानूनी सुधारका पक्षमा अनुकुल वातावरण बढ्दै गइरहेको र राजश्व वृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले सहकारी संस्था वचत रकम दुरुपयोगको सन्दर्भमा गठित संसदीय छानविन विशेष समितिले तयार गरेको प्रतिवेदनको आधारमा छानविनको प्रक्रिया अगाडी बढिरहेको भन्दै सो प्रक्रियालाई अनुचित ढंगले प्रभाव पार्ने कुनैपनि प्रकारका गतिविधिहरु, काम नगर्नका लागि सात राजनीतिक दलहरुले सामुहिक रुपमा अनुरोध गरेको जानकारी गराउनुभयो ।

महासचिव पोखरेलले निष्पक्ष र पारदर्शी तरिकाले छानविनको प्रक्रिया अगाडि बढाइएको कुराप्रति आश्वस्त हुनका लागि अनुरोध गरिएको पनि जानकारी गराउनुभयो । दलहरुले संघीयता कार्यान्वयनको सम्बन्धमा आवश्यक कानून निर्माणको प्रक्रियालाई अनौपचारिक र औपचारिक तरिकाबाट छलफल गरि छिटो निरुपण गर्ने कुरामा जोड दिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई टुंग्याउने विषयमा कानूनी अड्चन समाधान गर्न सरकारले सफलता प्राप्त गरेको भन्दै सात राजनीतिक दलहरुले सन्तोष प्रकट गरेका उहाँले जानकारी दिनुभयो ।