६ चैत्र २०८१, बुधबार | Thu Mar 20 2025


जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक : वनमन्त्री ठकुरी


117
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

वनमन्त्री ठकुरीले स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढीभन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाणहरु नेपालसँग रहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण खानेपानीका श्रोतहरु सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको बताउनुभयो ।

वनमन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको श्रोत, पर्यटन र स्वास्थ्य लगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरु देखिएको बताउनुभयो । जलवायु परिवर्तनबाट परेका असरहरुको समाधानका लागि एकीकृत भइ सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।