
काठमाडौं । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुईंकेल सम्मानित हुनुभएको छ ।
लुम्बिनी वर्ल्ड पिस फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो ।
युवाका लागि दिगो शान्ति र सामाजिक उधमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले पुरस्कृत गर्नुभएको हो ।
एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहेका कुईंकेललाई पत्रकारिताका माध्यमबाट मानव अधिकार प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा युवा अभियन्ता एवं नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ र नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष सुजता बराल पनि पुरस्कृत हुनुभएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै सभापति खतिवडाले युवाका नाममा राजनीति गर्न आउनेले गलत कामको आड लिनु दूर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले युवाहरू कुनै राजनीतिक रंग नदिएर मुलुकलाई अगाडि बढाउन एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । खतिवडाले युवाको मापदण्ड उमेर मात्र नभई समाजप्रतिको योगदान मुख्य कुरा भएको भन्दै सम्पूर्ण युवालाई देश र जनताप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
पुरस्कार वितरणका लागि गठित तीन सदस्यीय छनौट समितिमा ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए ।
कार्यक्रममा छनौट समितिका सदस्य अर्यालले सामाजिक उद्यमशिलता मार्फत मुलुकको कायापलट गर्न सकिने भन्दै सकारात्मक योगदानका लागि सम्पूर्ण युवालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरूरी परेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्