२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


साफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा


0
Shares

काठमाडौं । पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गएराति सम्पन्न खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

सोमबारको खेल निकै तनावग्रस्त बन्यो । दोस्रो हाफको सुरुमै रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो ।

खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरेको उत्कृष्ट गोलमा अग्रता लियो । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले खेल सुचालु गर्दै गोल ग¥यो । तर रेफ्रीले यसलाई मान्यता दिइनन् ।

यसपछि खेलमा विवाद भयो र झन्डै एक घण्टा खेल रोकियो । खेल सुचारु भएको केहीबेरमा नेपालकी सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा नेपालको लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गर्दै टोलीलाई विजयी गराए ।

भारतकी कप्तान आशालता देवीको पहिलो प्रहार गोल पोस्टमा ठोकिएर फर्केको थियो भने रन्जना चानुको चौथो प्र्रहार नेपालकी गोलरक्षक अञ्जन रानामगरले रोकेकी थिइन् । जितसँगै नेपालले बंगलादेशविरुद्धको फाइनल भिडन्त तय गरेको छ ।

अघिल्लो संस्करणमा पनि नेपालले सेमिफाइनलमा भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा भने बंगलादेशसँग पराजित हुँदै उपाध विमुख भएको थियो ।

साफ महिला च्याम्पियनसिप फुटबलको यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।