
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताउनुभयो ।
मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गर्नुभयो ।
मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरु संशोधन गरी अघि बढिरहेको बताउनुभयो । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको डिमाण्ड छ । त्यो पु¥याउने कसरी ? सरकारको दीर्घकालीन समस्याको योजना के छ ? त्यसका लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ । त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ,…..तपाइँहरुको यो समस्या मेरो कार्यकालमा समाधान गरेर मात्रै बिदा हुन्छु ।’
मन्त्री यादवले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्