
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा शुरु गरेको प्रदर्शनमा केही नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
विरोध प्रदर्शन कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा रास्वपाका नेता कार्यकर्ताहरु भेला भएका थिए । प्रहरीले निषेधित क्षेत्र तोकेको नेपाल हाउसबाट निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको उनीहरुले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा पनि प्रहरी प्रशासनले दमन गर्दै पक्राउ गरेको बुर्लाकोटीले बताउनुभयो । सभापति लामिछानेलाई षड्यन्त्रपूर्ण ढंगले पक्राउ गरेकाले त्यसको विरोध गर्न सडकमा आउनुपरेको रास्वपाका नेता कार्यकर्ताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्