
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ ।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो ।
गृहमन्त्री लेखकले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराउनुभयो ।
गृहमन्त्री लेखकले दीक्षित प्रहरीहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने भन्दै राष्ट्र सेवामा जोश र ऊर्जाका साथ लाग्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्