
काठमाडौं । मंगलबारदेखि रसुवागढी नाकाबाट आयात हुन थालेको छ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात शुरु भएको हो ।
अविरल र भीषण वर्षा तथा बाढीका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत भएपछि यस नाकाबाट आयात हुन थालेको हो ।
मंगलबार चार वटा कन्टेनरमा स्याउ, दुई कन्टेनर नास्पाती र तीन कन्टेर ओखर यस मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपालमा उत्पादन भएको सामान बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएको जनाइएको छ ।
केही समयदेखि राजमार्ग बन्द भएर आयात नहुँदा यस नाकाबाट हुने राजस्व असुलीमा कमी भएको छ । दुई अर्ब ५० करोड रुपैयाँ राजस्वमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्