
काठमाडौं । शेयर बजारको वृद्धिले सोमबार दोस्रो दिन पनि निरन्तरता पाएको छ ।
बजार परिसूचक नेप्से सोमबार २२ अंकले बढेर २७६० को विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
आइतबार ९ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३०२ वटा स्टकको २ करोड ४५ लाख ५७ हजार कित्ता शेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये सोमबार आठ वटा उपसमूह बढेका छन् भने पाँच वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । लघुवित्त उपसमूह सर्वाधिक ३ दशमलव २० प्रतिशतले बढ्दा पाँच वटा लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार १४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने नौ वटाको शेयर मूल्य स्थीर रहेको छ । इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज साहस उर्जाको सर्वाधिक ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्