
काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ ।
उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा हुने निर्वाचन आयोगले जनाएको छ । आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने जनाइएको छ ।
यस्तै मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।
यसैगरि मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मतदान मङ्सिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्