१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


3.211k
Shares

काठमाडौं । मोरङको उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुई वटा मोटरसाइकलमा चार जना सवार रहेको बताइएको छ ।

८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमालको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।