
काठमाडौं । आज मार्गशीर्ष शुक्ल पञ्चमी । विवाह पञ्चमी पर्व । आज शुक्रबार देशभर श्रीरामचन्द्र र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी पर्व मनाइँदैछ ।
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको थियो । यसैको सम्झनामा प्रत्येक वर्ष झै
आज राम–सीताको पूजा गरी यो पर्व मनाउन लागिएको हो । विशेषगरि जनकपुरधाममा भगवान् सीता–रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको थियो । रामायणमा उल्लेख भए अनुसार जनकपुरको रङ्गभूमिमा आयोजना भएको त्यस स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।
विवाहोत्सव मनाउँदा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार हुन्छ । यस्तै राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष किसिमले सजाइएको डोलामा राखेर रङ्गभूमिमा पुर्याइन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, विवाह विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा लगिन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भएको मानिन्छ । सीता–रामको डोला यात्रामा स्वदेश तथा छिमेकी मुलुक भारतका श्रद्धालु भक्तजनहरु पनि सहभागी हुन्छन् । आज भजनकीर्तन, रामलीला, झाँकी र प्रवचन पनि आयोजना हुने गरेको छ ।
यसअघि तिरहुतियागाछीमा मनाइने गरेको विवाह महोत्सव दुई दशकदेखि रंगभूमिमा विशेष कार्यक्रम गरि मनाउने गरिएको हो । महोत्सव पहिले एक महिनासम्म मनाउने गरिएकामा हाल पाँच दिन मात्र मनाउने गरिएको छ । आजका दिन विवाह गर्न साइत निकाल्न नपर्ने सामाजिक मान्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्