२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित कास्की प्रहरीले बुझायो प्रतिवेदन


0
Shares

काठमाडौं । कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत विरुद्ध सहकारी ठगी, संगठीत अपराध र सम्पति शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले रवि लामिछाने, छविलाल जोशी, रामप्रसाद खनाल, लीला पछाईसहित ५१ जना विरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको हो ।

प्रहरीले उनीहरुबाट एक अर्ब ५१ करोड रुपैयाँ बराबरको विगो असुल गर्नुपर्ने राय पनि प्रतिवेदनमा दिएको छ । रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीबाट जनही ५ करोड ५८ लाख रुपैयाँका दरले बिगो असुल गर्नुपर्ने माग गरिएको कास्की प्रहरी स्रोतले बताएको छ ।

सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा गएको रकमको हिसाब गर्दा रवि र छविको भागमा उक्त विगो रकम परेको पनि प्रहरीले जनाएको छ । यस्तै उनीहरुलाई चार वर्षदेखि ६ वर्ष कैद सजाय गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाले अब सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लैजाने छ । भोलिसम्ममा मुद्दा अदालतमा जानसक्ने बुझिएको छ ।