२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘कांग्रेसको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्छ’


1.339k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी नेतृत्वको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्ने बताउनुभएको छ ।

निर्माणाधीन गणेशमान सिंह राजमार्गको शनिबार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार संघीयतालाई सबल बनाउन क्रियाशील रहेको बताउनुभयो । उहाँले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

काठमाडौंको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका–९ सम्म उक्त मार्ग निर्माणाधीन छ । यसैबीच, थाहा नगरपालिका–९ मा कार्यकर्तालाई भेटेर उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउनुभयो । पार्टी कार्यकर्ताले जनताका घरदैलोमा पुगेर संगठनलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न आफूहरूले आउँदो निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता-कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुट-उपगुटमा पार्टी कार्यकर्ता विभक्त हुन नहुने बताउनुभयो ।