
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग समेत लगाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।
गत शुक्रबार यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो । आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदाबी गरिएको छ ।
एउटा समूहले योजनावद्ध रुपमा सहकारी ठगी गरेको भेटिएकाले सहकारी ठगी, त्यसमा संगठित अपराधको कसुरको अभियोग लगाइएको छ । साथै, सहकारी ठगी गरेको रकम अपचलन गरी शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्