
विवेक भण्डारी
नवलपुर । प्रयोगविहीन जमिनमा सुन्तला उत्पादन राम्रो भएपछि अहिले नवलपुरको गैडाकोट क्षेत्रका कृषकहरु उत्साहित छन् । केही वर्ष अगाडिसम्म पाखोबारीको रुपमा रहेको जमिनमा गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले टीआटी कृषि फर्म सुरु गरे । एक्लै प्रयोग विहिन जमिनका उत्पादन हुनेमा विस्वस्त नभएकाहरुलाई उनले गरेको उत्पादनले अरु स्थानीयले समेत पछ्याउन बाध्य बनायो ।
बाझो जमिनलाई २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उनले कृषि कर्मलाई अगाडि बढाए । झाडीले घेरिएको जमिनमा अहिले एक हजार पाँच सय वटा सुन्तला, आठ सय वटा कागती, तीन सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायतका फलफूलका बोटबिरुवाहरु र त्यसबाट उत्पादन भएको फलफूल देखेर रेग्मी आफै दंग छन् । टीआरटी कृषि फर्मका सञ्चालक गुप्तप्रसाद रेग्मीका अनुसार आँप, कागती, निवुवा, सुन्तलासहितका फलफूलले आम्दानी राम्रो दिन सुरु गरेको र यसको सिको अरुले पनि गर्दा गाउँको मुहार नै फेरिएको छ ।
बसेनीको डाँडामा अहिले पनि लटरम्मै पाकेका सुन्तला छन् । स्थानीय कृष्णबहादुर सारुमगरले समेत आफ्नो पाखो बारीमा एक हजार तीन सय ५० बोट सुन्तला लगाएका छन । पानी नहुनाले अरु केही पनि खेती नहुने ठाउँमा अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको उहाँ बताउनुहुन्छ । सुन्तला खपतका लागि असहज नभएको हुदाँ अहिले सुन्तलाबाट उत्पादनसंगै आम्दानी पनि राम्रो भएको कृषक मगर बताउनुहुन्छ ।
यहाँ लगाइएको एउटै सुन्तलाको बोटमा एक क्विन्टलसम्म सुन्तला फल्ने गरेका छन् । बसेनीमा फलेका सुन्तला रसिला र मिठा हुने भएकाले बजारीकरणको समस्या नभएको स्थानीय बताउँछन् । सुन्तला जोन लागू भएपछि अमिला प्रजातिका फलफूलका विरुवामा ५० प्रतिशत अनुदान तथा मल, सिँचाइमा समेत अनुदान र प्राविधिक सहयोग हुँदै आएको कारण सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । राज्यले कृषिमा भविष्य देखेकाहरुलाई उचित प्रबन्ध मिलाउन सके बाझो जमिनको सहि सदुपयोग हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्