२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सुरु


676
Shares

काठमाडौं । नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ गरिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएको हो ।

यसअघिसम्म यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थिया । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेपछि वंशाणुगत परीक्षण सम्भव भएको जनाइएको छ । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिनुभयो ।

यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउने छ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट संभावित जोखिमबाट जोगाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गरिने छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ । भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । प्रयोगशालाले भने ३० हजार रुपैयाँ भित्रै परीक्षण गर्ने जनाएको छ ।

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छन् । यस आधारमा करिब १२ करोड विदेश जानबाट समेत जोगिने देखिएको छ ।