७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


६ वटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्युनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमुलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरि बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।