
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउनुभयो ।
बर्तौलाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गर्नुभयो । उहाँले पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक तथा जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गर्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ । पदहरु भनेको अस्थायी कुराहरु हुन् । स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा पनि हो । यि कुरामा पनि हामीले ध्यान दिनुपर्छ । हरेकले के सोच्नुपर्छ भने आगामी यात्रामा कुनैपनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्तिहरु आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन ।’
प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरि अभिव्यक्ति दिनुपर्ने बताउनुभयो । भविष्यमा भेट हुन्छ भन्ने स्मरण गरेर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्