
काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । आइतबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
यसपटक प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो ।
बैठकको शुरुमा अध्यक्ष ओलीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।
बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने एमालेको तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्