Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता


1.3k
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरेको हो । प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

सुर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको छ । यति नै बेला काठमाडौंमा पनि अर्को मुद्दा दर्ता भएको हो ।

गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल विरुद्ध मुद्दा दायर भएको हो ।

यसैगरी सहकारीका तत्कालीन सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

यस्तै पूर्व कोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामीलगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । उनीहरुमाथि स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।