१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चितवनमा पंछीको गणना कार्य सुरु


0
Shares

काठमाडौं । चितवनमा आजबाट जलपंछीको गणना कार्य सुरु गरिएको छ ।

चितवनको ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपंछी गणना गर्ने गरिएको छ ।

यस वर्षको गणना जनवरी ४ देखि सुरू गरिएतापनि चितवनमा भने आजबाट गणना सुरू गरिएको हो । यो गणना कार्य आगामी जनवरी ९ सम्म सञ्चालन हुनेछ । यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्यांक संकलन गरिनेछ ।

गतवर्ष कोशीटप्पु वन्यजन्तु आरक्षण, चितवन, बाँके, बर्दिया शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्जहरू, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदीशपुर लगायतका क्षेत्रहरूका साथै देशका विभिन्न तालतलैया र सिमसार क्षेत्रहरूमा यो गणना गरिएको थियो ।

गतवर्ष देशभरका १८ प्रमुख सिमसार क्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरूमा गरिएको जलपंछी गणनामा ७९ प्रजातिका ६३ हजार ९ सय जलपक्षीहरू रेकर्ड गरिएको थियो । सन् १९८७ देखि नेपालमा नियमित रूपमा एशियाली जलपंछी गणना हुँदै आएको छ ।