२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश स्वागत योग्य : निजी क्षेत्र


585
Shares

काठमाडौं । निजी क्षेत्रका संघ-संस्थाहरुले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य भएको बताउँदै सरकारलाई धन्यावाद दिएका हुन् ।

हाल बजारमा आएको संकुचन हटाई अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने उनीहरुको विश्वास छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिर्वतन गरेकोमा सरकारलाई धन्यावद दिनुभयो । उहाँले अब नेपालबाहिर समेत व्यवसायिक क्रियाकलाप गरेर विदशबाट लगानी भित्र्याउने बाटो खुलेको बताउनुभयो ।

अध्यक्ष ढकालले कालोबजारी ऐनमा भएको परिवर्तनले समेत उद्योगी व्यवसायीहरु खुशी भएको बताउनुभयो । उहाँले राजश्व चुहावट र राजश्व न्यायधीकरणसम्बन्धी ऐनमा धरौटीको व्यवस्था राखि मिलापत्र लगायतका विषयहरु समेटिएकोमा नीजि क्षेत्र उत्साहित भएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको बताउनुभयो । उहाँले उक्त अध्यादेशले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएको बताउनुभयो ।

अध्यक्ष अग्रवालले लामो समयदेखि बजारमा संकुचलन र आर्थिक गतिविधि शिथिल हुँदा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसकेको बताउनुभयो । उहाँले सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि प्रथम त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वृद्धिदरमा सुधार नहुनुमा नीतिगत समस्या रहेकोमा अब सुधारको प्रयास अगाडि बढ्ने विश्वस व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरुको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरुमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश बताउनुभयो । उहाँले कानूनहरमा भएको परिवर्तनले उद्योगी व्यवसायीहरुमा नयाँ रक्त सञ्चार हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष अग्रवालले मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको दृढ इच्छाशक्तिको स्वागत गर्नुभयो । उहाँले ध्यादेशका व्यवस्थाका कारण लगानीमैत्री वातावरण सृजना हुँदा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताउनु भयो ।

निजी क्षेत्रका प्रतिनिधिहरुले कानूनहरुको कार्यान्वयनका लागि छिट्टै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गर्नुभएको छ ।