२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश


8.385k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पनि धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले आज लामिछानेबाट ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने र जिबी राईमाथि संयुक्त रुपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा गत साता कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी लिएर छाडेको थियो ।

लामिछानेविरुद्ध चितवन, पर्सा र रुपन्देही जिल्ला अदालतमा पनि सहकारी ठगीकै मुद्दा विचाराधीन रहेका छन् । यसैबीच, काठमाडौं जिल्ला अदालत परिसरभित्रै सहकारीका पीडितहरुको पक्षमा वकालत गर्दै आउनु भएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

अदालत परिसरमा भेला भएका रास्वपा कार्यकर्ताले त्रिपाठीमाथि आक्रमणको प्रयास गरेकोमा प्रहरीले तत्काल हस्तक्षेप गरी त्रिपाठीलाई बचाएको थियो ।