५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन माघभित्र गरिसक्ने गृहमन्त्रीको प्रतिवद्धता


338
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्शानीको विस्तृत विवरण आँकलन (डिडिए) माघ महिनाभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले २०७९ सालको डोटी भूकम्पका साथै जाजरकोट र बझाङ भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माणको लागि सरकार योजनावद्ध तयारीमा जुटेको बताउनुभयो ।

गृहमन्त्री लेखकले भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने निर्णय भइसकेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा गइसकेको उल्लेख गर्नुभयो । उहाँले भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी निवासहरुको पुनःनिर्माण, बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न भइसकेको दाबी समेत गर्नुभयो ।