
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गर्नुभयो । उहाँले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताउनुभयो । उहाँले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताउनुभयो । उहाँले नेपालमा व्यवसायिक स्वतन्त्रता रहेको बताउनु भयो । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।
गृहमन्त्री लेखकले पुनः सर्च कमिटी बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोगहरु गठन गर्ने पनि जानरकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्