
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो । उहाँकाअनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ ।
संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय भउको बताउनुभयो । बैठकले संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयकहरु संसदमा छिटो भन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने, महत्वपूर्ण विषयहरुमा नियमित छलफल गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक घिमिरेले बताउनुभयो । विभिन्न समितिमा विचाराधिन विधेयकलाई टुंगोमा पु¥याउन सक्रियताका साथ काम गर्ने, आफ्नो-आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरु सम्पन्न गराउने प्रक्रियामा गति बढाउने, बजेटका अभावले थन्किएर बसेका अधुरा आयोजनाहरुलाई चाँडो अगाडि बढाउन पार्टीबाट सरकामा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा रहेका तर श्रोत सुनिश्चितको पर्खाइमा रहेका, टेण्डर हुन नसकेका, निर्माण शुरु भएका तर गतिमा काम नभइरहेका विकास आयोजनाहरुलाई सम्पन्न गराउन आवश्यक पहलकदमी लिने निर्णय गरेको छ ।
बैठकले दुई दिन पार्टीका नेतारकार्यकर्ताहरुसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ । प्रमुख सचेतक घिमिरेले सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि बताउनुभयो । पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने निर्णय भएको बताउनुभयो ।
प्रमुख सचेतक घिमिरेले बैठकमा अध्यादेशको बारेमा पनि छलफल भएको तर कांग्रेस स्पष्ट रहेको बताउनुभयो । दुई राजनीतिक दलबीच सल्लाह गरेर ल्याइएको र अध्यादेश ल्याउन तत्काल नै जरुरी रहेको बताउनुभयो । केही आर्थिक सुधारका पक्षमा र सुशासनका पक्षमा तत्काल अध्यादेश ल्याएर सम्बोधन नगरे समय प्रक्रिया लम्बिने र सरकारले केही गर्न नसकेको भन्ने सन्देश जनतामा प्रवाह हुने भएकाले अध्यादेश ल्याइएको बताउनुभयो । मन्त्रीहरुका प्रयास प्रशंसनीय रहेको बताउनुभयो । वर्तमान गठबन्धनले संसदको पूरा अवधि धान्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्