
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले कोप-२९ मा नेपालका हिमाल र पर्वत तथा जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा अन्तरर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले उठाएका विषयहरुले विश्वको ध्यान केन्द्रित भएको उहाँको भनाइ छ ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री ठकुरीले पहिलो पटक पर्वतीय मुद्दाका एजेण्डामा कोपमा सहमत भएको बताउनुभयो । उहाँले नेपाल र विकासशील राष्ट्र किर्गिस्तान समेतको पहलमा माउण्टेनबेस एक्शन र तिनको आवधिक प्रतिवेदन गर्नुपर्ने विषय पेस भएको र अर्को कोपमा टुंगो लाग्ने गरी अगाडि बढेको उल्लेख गर्नुभयो ।
मन्त्री ठकुरीले पेरिस सम्झौताको धारा ६ को पूर्णकार्यान्वयन जानेगरी निर्णय भएको हुँदा नेपालको अन्तर्राष्ट्रिय कार्बन व्यापारमा सहज पहुँच भई लाभ लिनसक्ने अवस्था सिर्जना भएको समेत बताउनुभयो । नेपालको जलवायुजन्य हानी नोक्शानीको सम्बोधन गर्न तत्कालै दाबी गर्न सकिने आधार समेत कोप–२९ ले तय गरेको उहाँले बताउनुभयो । उहाँले जलवायु अनुकुलन कोषमा विगतमा नेपालको तर्फबाट युएन एजेन्सीले मात्र पहुँच पाउने गरेकामा राष्ट्रिय प्रकृति संरक्षण कोषले मान्यता पाउने गरि निर्णय भएको समेत बताउनुभयो ।
मन्त्री ठकुरीले अगामी जलवायु सम्मेलनका लागि नेपालले विषयविज्ञहरु समावेश गरी स्थायी प्रकृतिको वार्ता टोली गठन गर्न सुझाव समेत दिनुभएको छ । सम्मेलनमा सहभागि हुन प्रयाप्त संख्यामा वार्ताकारहरुको प्रवन्ध गर्नुपर्ने उहाँको भनाइ छ । वन तथा वातावण मन्त्रालयका सचिव दीपककुमार खरालले नेपालले कोप–२९ मा जलवायुमा अन्याय भएको र यसको लागि विकास गर्नुपर्छ भन्ने अडान कायमै राखेको बताउनुभयो । उहाँले नेपाल पर्वतीय मुलक भएको उल्लेख गर्दै नेपाल लगायत ३७ वटा मुलुकहरुले एउटै एजेण्डामा अघि बढिरहेको बताउनुभयो । उहाँले हिमालको संरक्षण तथा जलवायु कार्य गर्नको लागि नेपालले वित्त पाउनुपर्ने मुद्दालाई मुख्य रुपमा उठाएको बताउनुभयो ।
बैठकमा बिहीवार विश्व जलवायु सम्मेलन (कोप-२९) को समिक्षा र नेपालको आगामी कार्यदिशाका विषयमा छलफल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्