२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राजावादीलाई भेट्दैमा मलाई राजावादी भन्न मिल्दैन : भीम रावल


1.989k
Shares

कैलाली । नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गर्नु भएको छ । उहाँले यो अभियानमा काठमाडौं महानगरपालिकाकाका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा सार्वजनिक गर्नुभयो ।

आज बिहान हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी विमानस्थलमा ओर्लिएका रावलले पत्रकारहरुको भेटमा सो धारणा सार्वजनिक गर्नु भएको हो । पूर्वगृहमन्त्री समेत रहेका रावललाई पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले बालेनजी लगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुने बताउनुभयो ।

पत्रकारहरुले रावललाई राजावादीहरुसँगको भेटघाटबारे जिज्ञासामा देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरुसँग भेटेको र त्यो स्वाभाविक भएको बताउनुभयो ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएको रावलले जानकारी दिनुभयो । उहाँले राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भएको भन्न नमिल्ने रावलले बताउनुभयो ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उहाँले त्यसलाई रोक्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताउनुभयो ।

रावल विमानस्थल ओर्लिंदा उहाँका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए ।