
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत विधेयकमा संसोधन गर्दै २८ हजार ५ सय मेगावाट उत्पादनको लक्ष्य प्राप्त गर्न तत्कालै पीपीए खुला गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार इप्पानको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भरखरै अनुभव लिदै गएको निजी क्षेत्रलाई निषेध गरेर नभई सहजीकरण गरी ऊर्जा उत्पादनका लक्ष्यहरु भेटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युत विधेयकका असमान दफाहरुमा संसोधन गरेर मात्रै संसदबाट पारित गर्न सरकारसँग माग गर्नुभयो ।
अध्यक्ष कार्कीले विद्युत विधेयकमा संसोधन गरे मात्रै २८ हजार ५ सय मेगावाट उत्पादनको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले पीपीए नभइ वित्तीय व्यवस्थापन नहुने भएकाले सरकारले तत्काल पीपीए खुलाइदिनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सिमित गर्ने प्रश्ताव विद्युत विधेयकमा आएकाले आफूहरू त्रासमा रहेको गुनासो गर्नुभयो ।
अध्यक्ष कार्कीले विद्युत उत्पादनको लक्ष्य प्राप्त गर्नको लागि ६२ खर्ब रुपैयाँ लगानी चाहिने र त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने निजी क्षेत्रको प्रक्षेपण रहेको बताउनुभयो । उहाँले वार्षिक ७ लाख रोजगारी सिर्जना हुने र।यसले नेपालको अर्थतन्त्रमा दूरगामी महत्व राख्ने उल्लेख गर्नुभयो । उहाँले अहिलेकै विद्युत विधेयक संसदबाट पारित गरे १० वर्षमा नभइ अर्को १०० वर्षमा पनि २८ हजार ५सय मेगावाट विद्युत उत्पादन हुन नसक्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष कार्कीले ५०० मेगावाट सम्मका आयोजना बनाइरहेको निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सिमित गर्ने, सरकारले बिना प्रतिष्पर्धा आयोजना बनाउने र उसले छोडेका आयोजना मात्रै निजी क्षेत्रले बनाउने भन्ने प्रश्ताव विद्युत विधेयकबाट हटाइनुपर्ने बताउनुभयो ।
अध्यक्ष कार्कीले जलविद्युत आयोजनालाई आइपीओमा जान नेटवर्थ पुगेन भनेर आइपीओको अनुमति रोक्ने काम सेबोनबाट भइरहेको बताउनुभयो । उहाँले विभिन्न संसदीय समितिले अन्य कम्पनीलाई जसरी निर्देशन दिइरहेको बताउनुभयो । उहाँले ऋण लिएर बनाएको आयोजनाले विद्युत उत्पादन गर्ने बित्तिकै नाफा कमाउन नसक्ने नेटवर्थको कुरा देखाएर स्वदेशी संकलनको बाटो रोकिन नहुने बताउनुभयो ।
अध्यक्ष कार्कीले सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट उत्पादन गरी आर्थिक समृद्धि हासिल गर्ने सपना पूरा गर्नका लागि निजी क्षेत्र लगानी गर्न तयार रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सबै किसिमको सरकारले वातावरण बनाए एक्लै सो लक्ष्य हासिलका लागि अनुभवी भइसकेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्