
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्ने
कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।
सोमवार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताउनुभयो ।
उहाँले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ । पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ती उद्देश्य हाँसिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ।’
उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताउनुभयो । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्