५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


शेयर बजारमा वृद्धि


403
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ६.७८ अंक बढेर २६०७.९९ विन्दुमा पुगेको छ । त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ। नेप्से बढेपनि सोमबार कारोबार रकम पनि बढेको छ ।

आइतबार ६ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७४ हजार ४०३ पटकको कारोबारमा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.०५ प्रतिशत बढेको छ ।

त्यस्तै, सोमबार रिभर फल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने दोल्ती पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । सोमबार विन नेपाल लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सोमबार रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २४ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सोमबार हिमालयन पावर पार्टनरको १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये सोमबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । सोमबार अन्य उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सोमबार सर्वाधिक २.५३ प्रतिशत घटेको छ ।