
काठमाडौं । तीन दलका सांसदहरुले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा बोल्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
सांसदहरुले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारले बन्धक बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले सरकार पक्षले नै समिति सभापति राखेर वन्धक बनाउन नहुने बताउनुभयो ।
सांसद शर्माले लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गर्नुभयो । उहाँले सार्वजनिक लेखा समितिले सरकारको लाचार छायाँ बनेको बताउनुभयो । उहाँले सभापतिको परम्परा के थियो हेर्ने र सच्याउनुपर्ने भन्दै लेखा समितिको नेतृत्व प्रतिपक्षका नहुँदा समितिजस्तो नहुने टिप्पणी गर्नुभयो । उहाँले लेखा समिति प्रतिपक्षले पाउने हो सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने सांसद शर्माको भनाई थियो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने बताउनुभयो । उहाँले विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताउनुभयो ।
सांसद केसीले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको नेतृत्वमा हुँदा पनि परम्परा तोडिएको बताउनुभयो । लेखा समिति सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिने प्रचलन रहेको दोहो¥याउनुभयो । सांसद केसीले परम्परा तोडिँदै गएको भन्दै त्यसलाई सुधार गरी सच्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्नुभयो । उहाँले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि आग्रह गर्नुभयो । उहाँले लेखा समिति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने बताउनुभयो ।
सांसद ढकालले समिति सभापतिका विषयमा कुरा मात्रै हुने तर निरन्तरता एउटै मात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले समितिले प्रिमियममा आईपीओ निष्कासन गर्न नदिन निर्देशन दिएपनि अध्यादेशमा प्रिमियममा आईपीओ निष्काशन गर्ने दिने गरी आउनु जायज नभएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोप लगाउनुभयो । उहाँले सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँ जस्तो भएर सरकारले गरेका नराम्रा कामको ढाकछोप गर्ने काम गरिरहेको बताउनुभयो ।
सांसद दाहालले लेखा समितिको नेतृत्व प्रतिपक्षिलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोप लगाउनुभयो । उहाँले लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने भएपनि सत्ता पक्षले नै नेतृत्व राखि रहेको बताउनुभयो । उहाँले सभापतिले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रसस्त गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का अर्का सांसद अमनलाल मोदीले सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न बारम्बार माग गर्दै आएको बताउनुभयो । उहाँले विगतमा एक्लै आवाज उठाए पनि अहिले समितिमा धेरै सांसद र दलहरुको धारणा सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने कुरा आउन थालेको बताउनुभयो । उहाँले सार्वजनिक लेखा समिति सरकारको चेक इन ब्यालेन्सका लागि भएकाले प्रमुख प्रतिपक्षको हुनुपर्ने विश्वव्यापी मान्यता रहेको बताउनुभयो ।
सांसद मोदीले विगतमा नेकपा एमाले प्रतिपक्षमा हुँदा समिति सभापति प्रतिपक्षलाई दिन माग गर्दै बैठक बहिस्कार गरेका समेत इतिहास रहेको बताउनुभयो । उहाँले सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिनको लागि संविधान संशोधन आवश्यक नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्