
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्दै गएको छ ।
केही दिनयता अधिकतम तापक्रम बढ्नुका साथै न्यूनतम तापक्रम पनि बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले त्यसको असरले तापक्रम बढेको उहाँले बताउनुभयो ।
मौसमविद् अधिकारीका अनुसार न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । केही दिनपछि भने भारतको उच्च चापीय प्रणाली हट्दै जानेछ । अहिले दुई–तीन दिनयता तापक्रम बढे जसरी त्यो ‘रेसियो’मा भने नबढ्ने उहाँले बताउनुभयो । तर अब तापक्रम बढ्ने समय भने हुन लागेको उहाँको भनाइ छ ।
विभागको बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियससम्म पुगिसकेको छ । यस्तै न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ ।
विभागका अनुसार यसवर्ष काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । गत २४ घण्टामा सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ डिग्री र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ ।
देशका २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि रेकर्ड भएको छ । न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्