२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य हुनुपर्नेमा सांसदहरुको जोड


247
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य गर्न सांसदहरुले माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल मेडिकल व्यवसायी संघसँग गरेको छलफलमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन ।

सांसदहरुले नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नविकरण भएर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा लगाईएको सिण्डिकेट तत्काल अन्त्य गर्न जरुरी रहेको बताए. । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परिक्षण गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्थापन गरी श्रमिकहरुलाई सहज वातावरण बनाउन जरुरी रहेको सांसदहरुको भनाई थियो ।

समिति बैठकमा बोल्दै पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरुलाई विदेश भन्दा पनि स्वदेशमा नै राज्यले रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली श्रमिकहरु वैदेशिक रोजागारीमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मेडिकल व्यवसायीहरुले गुणस्तर र मापदण्डमा लापरबाही रहेको भन्दै गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मेडिकल व्यवसायीहरुका जायज मागका सम्बोधन हुने तर व्यवसायीहरुले श्रमिकलाई ठग्ने काम बन्द गर्न सुझाव दिनुभयो ।

नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले इजरायल जाने श्रमिकहरु पनि वैदेशिक रोजगारीका लागि रोजगारीमा गएको बताउनुभयो । उहाँले श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नविकरण भएर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण अनुमति नलिएकाहरुले गरिरहेको बताउनुभयो । उहाँले समितिले अनुसन्धान छलफल गरी श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नविकरण भएर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षणमा भएको सिण्डिकेट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद राजु थापाले नेपालका वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुबाट मेलेसियामा कमिसन जाने कुरा गम्भिर रहेको बताउनुभयो । उहाँले सिण्डिकेट लगाएर मेडिकलले कमाएर मेलेसियाका कम्पनीलाई कमिसन पठाउने विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण लागेको सिण्डिकेट हटाउनु पर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले पनि वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिण्डिकेट लगाएर कमाएको ५० प्रतिशत विदेश रकम पठाउनु भनेको मुलुकको ढुकुटी रित्तो बनाउनुभयो । उहाँले त्यस्तो रकम बाहिर जान समितिले दिन नहुने बताउनुभयो ।

उहाँले श्रमिकहरुको स्वास्थ्य परिक्षणमा लगाएको सिण्डिकेट सरकारले तत्काल हटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुक संघीयता लागू भएकाले हरेक प्रदेशबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आवश्यक रहेको बताउनुभयो ।