
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
मन्त्री यादवले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खाने पानी नपुगेको उपभोक्तालाई समेत खानेपानी पु¥याउने गरी बजेट ल्याउने बताउनुभयो ।
मन्त्री यादवले खानेपानीको लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पु¥याउन समस्या भएको बताउनुभयो । उहाँले वर्तनमा सरकार अगामी बजेटमा हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताउनुभयो । उहाँले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको बताउनुभयो । उहाँले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले कसैको प्रभावमा खानेपानी मन्त्रालय नपर्ने पनि बताउनुभयो ।
मन्त्री यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गर्नुभयो । उहाँले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने सरकारको योजना रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्