
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय समितिको बैठक सुरु भएको छ ।
बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो ।
बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,ओली सरकारको ६ महिनाको समिक्षा,पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारीको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
अध्यक्ष लिङ्देनले बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुई ठूला पार्टी मिलेर बनेको सरकारको पछिल्ला गतिविधिको बारेमा समिक्षा गर्ने तयारी रहेको बताउनुभयो । उहाँले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाउनुभयो ।
अध्यक्ष लिङ्देनले नियमित संसद बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति बनेको बताउनुभयो । उहाँले वर्तमान सरकार सञ्चाल भएदेखि अहिलेसम्मको बीचमा जनतामा आशा जागृत हुनुपर्नेमा जनतामा थप निराशा पैदा भएको बताउनुभयो । अर्थतन्त्र शिथिल र कमजोर भएको भएको सरकारले महँगी नियन्त्रण गर्न नसकेको दाबी गर्नुभयो ।
अध्यक्ष लिङ्देनले सिमेन्ट लगायत निर्माण सामाग्रीमा चरम मूल्यवृद्धि हुँदा पनि सरकार अन्देखा भएर बसेको आरोप लगाउनुभयो । उहाँले कमजोर वैदेशिक सम्बन्ध र असन्तुलित प्रराष्ट्रनीति कारण मुलुक भूराजनीतिक चक्रव्युहमा फस्ने खतरा बढेर गएको उल्लेख गर्नुभयो । उहाँले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने उदेश्यले संसदलाई छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गरेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरी व्यवस्था बदल्ने आगामी रणनीति बनाउने पनि बताउनुभयो । पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी काम गरिरहेकाले त्यसको समीक्षा हुने उहाँको भनाई छ । देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने भन्दै संसदमा पार्टीको भुमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्